अषाढ २१, काठमाडौं ।।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको तयारीलाई लक्षित गर्दै संस्थापन इतर समूहले छुट्टै कार्यालय खडा गरेर छलफल सुरु गरेको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा १५औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय स्थापना गरी छलफल सुरु गरेको हो ।
विषेशगरी उक्त कार्यालय आगामी महाधिवेशनसँग सम्बन्धित छलफल, समन्वय र संगठनात्मक गतिविधिको केन्द्रका रूपमा सञ्चालन हुनेछ।
पार्टीको यस छलफलमा यो समूहले १४औं महाधिवेशनबाट निर्वाचित आफू पक्षीय केन्द्रीय समितिका नेताहरूलाई बैठकमा बोलाएको हो ।
छलफलमा खड्कासँगै शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमानसिंह, एनपी साउद, प्रकाशशरण महतगायत नेताहरू सहभागी छन् ।
चुनदवीमा सम्पर्क कार्यालय सञ्चालन गर्नुपूर्व खड्काको गल्फुटारस्थित निवासमा काठमाडौंभित्र उनको समूहमा रहेका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूसँग बैठक बसेको थियो ।
सो बैठकले नेताहरूले सातै प्रदेशको भेला सकिएको र अब राष्ट्रिय भेलाको तयारी गरिएको बताएका छन् । आजको बैठकले राष्ट्रिय भेलाको मिति तोक्ने तयारी छ ।









