कास्कीको सात स्थान पहिरोको उच्च जोखिममा, सुरक्षा निकाय ‘हाइ अलर्ट’मा
  • प्रमुख खबर

Oplus_131072

अषाढ २४, पोखरा ।।
कास्कीको सात स्थानलाई पहिरो र सडक अवरोधको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीअन्तर्गतको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको प्रतिकार्य योजनाअनुसार पृथ्वी राजमार्ग आसपासको विजयपुर, पुम्दीभुम्दी, चङ्खपुर–पामे, हेम्जा, सुइखेत, नयाँपुल र लुम्ले क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकरण गरिएको हो ।

विषेशगरी यस ठाउँमा वर्षायाममा पहिरो खस्ने तथा सडक अवरुद्ध हुने जोखिम उच्च रहेको उक्त समितिले औंल्याएको छ।

सो स्थानमा वर्षका कारण सडक अवरुद्ध भएमा अमरसिंहचोक, छोरेपाटन, भकुन्डे, हरिचोक, नयाँपुल र घट्टेखोलामा सवारीसाधन व्यवस्थापन गर्नका ‘होल्ड’ गरिने समेत समितिले उल्लेख गरेको छ वर्षायाममा हुने विपद्का घटनालाई न्यूनीकारण गर्न जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाले समन्वयात्मक रूपमा खोज तथा उद्धारकार्य सञ्चालन गर्ने समेत बताइएको छ ।

समितिका अनुसार मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि सुरक्षा निकायले आवश्यक जनशक्ति र उद्धार सामग्री तयारी अवस्थामा राखेका छन्। जसअन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीले ६९ जना तालिमप्राप्त जनशक्तिसँगै आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राखेको जनाएको छ।

त्यसैगरी सशस्त्र प्रहरी बलले ५१ जना जनशक्ति, ११ जना दक्ष गोताखोर र जल उद्धारका लागि आवश्यक उपकरणसहित उच्च सतर्कता अपनाएको छ।

यता नेपाली सेनाले पनि ३५ जना जनशक्तिलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा राखेको बताएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा उद्धार, राहत र प्रतिकार्यलाई प्रभावकारी बनाउन ‘मनसुन प्रतिकार्य योजना–२०८३’ कार्यान्वयनमा ल्याउने जनाएको छ।

यो प्रतिकार्य योजना जिल्ला समन्वय समिति कास्की र रेडक्रस सोसाइटी जिल्लासँग छलफल गरी थप अध्ययनपछि तीन दिनभित्रमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

प्रशासनले तयार गरेको विपद् न्यूनीकरण प्रतिकार्य योजनामा बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोधलगायत मनसुनजन्य विपद्को पूर्वतयारी, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ ।

कास्की नेपालकै बढी वर्षा हुने जिल्लामध्ये एक भएकाले अन्य प्रकोपको तुलनामा जलजन्य विपद्को जोखिम उच्च रहेकाले सोहीअनुसार योजना बनाइएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्