संविधान संशोधन कार्यदलको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले फिर्ता बोलायो आफ्नो प्रतिनिधि
  • प्रमुख खबर

अषाढ २५, काठमाडौं ।।
संविधान संशोधन बहसपत्र कार्यदलबाट नेकपा एमालेले आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ । पार्टीको तर्फबाट
कार्यदल सदस्य रहेका डा.भीष्म अधिकारीलाई फिर्ता बोलाएको हो ।

एमाले महासचिव शङ्कर पोखरेलले कार्यदलका संयोजक असिम शाहलाई बिहीबार(आज) पत्र पठाउँदै अधिकारीलाई फिर्ता बोलाएको जानकारी गराएका हुन् ।

कार्यदलको सुरुका बैठकमा अधिकारी सहभागी भएपनि पछिल्ला दिनमा भने उनी सहभागी हुन छाडेका थिए । संविधान संशोधनका लागि गठित कार्यदलको कामकारबाही सुरुदेखि नै शंकास्पद रहेको एमालेले जनाएको छ।

विषेशगरी कार्यदलले संशोधन गर्नुपर्ने विषयहरू स्पष्ट रूपमा पहिचान नगरेको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको धारणा अस्पष्ट रहेको तथा बहसमा ल्याइएका केही प्रस्तावहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मविपरीत देखिएको भन्दै एमालेले सरकारसँग पटक–पटक स्पष्ट धारणा माग गरेपनि त्यसको सुनुवाइ नभएको समेत जनाएको छ।

एमालेले वर्तमान संविधानका आधारभूत मूल्य–मान्यता अझ सुदृढ बनाउँदै विगतमा कार्यान्वयनका क्रममा देखिएका कमजोरी र नकारात्मक अभ्यासलाई सुधार गर्ने उद्देश्यसहितको संविधान संशोधनप्रति आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गरेको छ। तर कार्यदलले भने संविधानका स्थापित आधारहरू नै खल्बल्याउने दिशामा बहस अघि बढाएको आरोप एमालेले लगाएको छ।

आजका दिनसम्म पनि आफूहरुको पार्टीको प्रस्ताव अनुसार सरकारका तर्फबाट कुनै किसिमको स्पष्ट जवाफ नआएको भन्दै पार्टी प्रतिनिधिलाई सो कार्यदलबाट फिर्ता बोलाइएको महासचिव पोखरेलद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्