प्रतिनिधिसभा नियमावलीका केही व्यवस्था संविधानसँग बाझिएको भन्दै कांग्रेसको सर्वोच्चमा रिट
  • प्रमुख खबर

अषाढ २५, काठमाडौं ।।
प्रतिनिधिसभा नियमावलीविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रतिनिधिसभा नियमावलीमा भएको केही व्यवस्था बदरको माग गर्दै कांग्रेसले बिहीबार(आज)सर्वोच्चमा रिट दायर गरेको हो ।

प्रतिनिधिसभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बाझिएको दाबी गर्दै कांग्रेसका राष्ट्रियसभा र प्रतिनिधिसभाका संसदीय दलका चार जना पदाधिकारीले अदालतमा रिट दायर गरेका हुन् ।

उक्त रिट निवेदनमा राष्ट्रियसभा संसदीय दलकी नेता कमला देवी पन्त र सचेतक पदमबहादुर परियार तथा प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले समेत हस्ताक्षर गरेका छन्।

उनीहरूले प्रतिनिधिसभाले २०८३ जेठ १७ गते पारित गरेको प्रतिनिधिसभा नियमावली, २०८३ को प्रस्तावना, नियम १४०(११) र नियम २५९ संविधानविपरीत रहेको दाबी गरेका छन् ।

नियमावलीमा संविधान संशोधन गर्दा दुवै सदनको संयुक्त संख्याको दुईतिहाइ राखिएकाले राष्ट्रियसभाको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेकाले राष्ट्रियसभाको तर्फबाट पनि निवेदन दिइएको रिट निवेदनमा सहजीकरण गरिरहेको अधिवक्ता राजु कुटवालले बताए ।

सो रिटमा संघीय संसद सचिवालय, प्रतिनिधिसभा, सभामुख डीपी अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक गणेश पराजुलीलाई विपक्षी बनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्