पोखरा बसपार्कका सुकुमबासीबारे प्रतिवेदन तयार, ५७४ निवेदनमध्ये २३३ परिवारको अन्यत्र पनि भेटियो जग्गा
  • प्रमुख खबर

अषाढ २६, पोखरा ।।
पोखरा बसपार्क क्षेत्रका सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अवस्था पहिचान गर्न पोखरा महानगरपालिकाले गठन गरेको समितिले अध्ययन प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार(आज) महानगर प्रमुख धनराज आचार्यलाई उक्त प्रतिवेदन बुझाएको हो ।

करिब डेढ महिनासम्म गरिएको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका २३३ परिवारको नाममा अन्यत्र पनि जग्गा–जमिन रहेको देखिएको छ।

महानगरको प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीको संयोजकत्वमा बनेको समितिले वडा कार्यालयबाट सिफारिस भएका ५७४ निवेदनको विस्तृत अध्ययन गरेको थियो।

अध्ययनका क्रममा जिल्ला प्रशासन कार्यालयको केन्द्रीय नागरिकता सूचना प्रणाली र भूमि प्रशासन कार्यालयको भूमि अभिलेख सूचना प्रणालीमार्फत आवेदकहरूको विवरण प्रमाणीकरण गरिएको थियो।

समितिका संयोजक तिवारीका अनुसार सरकारी डिजिटल प्रणालीको प्रयोग गरेर गरिएको अध्ययनबाट कतिपय आवेदकहरूको नाममा अन्यत्र पनि जग्गा रहेको पुष्टि भएको हो। उनले प्रविधिमा आधारित तथ्यांकका आधारमा प्रतिवेदन तयार गरिएको बताए।

अध्ययनका क्रममा प्रभावित परिवारहरूले आफूहरूलाई हटाउनुअघि वैकल्पिक व्यवस्थापनको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन्। उनीहरूले सम्भव भएसम्म वडा नम्बर ९ भित्रै वा सहज पहुँच हुने स्थानमा पुनःस्थापना गर्नुपर्ने सुझाव दिएका छन्। समितिले उनीहरूको मागलाई पनि प्रतिवेदनमा समेटेको छ।

त्यस्तै महानगरले सुकुमबासी व्यवस्थापनका लागि उपयुक्त जग्गा खोज्न वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा अर्को समिति गठन गरेको छ।

प्रारम्भिक रूपमा सिफारिस गरिएका ६ स्थानमध्ये केही जग्गा अन्य संस्था वा निकायको स्वामित्वमा परेपछि थप विकल्प खोज्ने काम जारी रहेको जनाइएको छ।

प्रस्तावित जग्गाको प्राविधिक उपयुक्तता अध्ययन गर्न इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा अर्को समिति पनि सक्रिय छ।

यस्तै आवश्यक कानुनी तथा न्यायिक निरुपणका लागि छुट्टै समिति गठन गरिएको महानगरले जनाएको छ।
महानगर प्रमुखलाई बुझाइएको प्रतिवेदन अब महानगर कार्यपालिकाको आगामी बैठकमा छलफलका लागि प्रस्तुत गरिनेछ।

कार्यपालिकाबाट स्वीकृति पाएपछि सुकुमबासी व्यवस्थापन र बसपार्क क्षेत्रको सार्वजनिक जग्गा संरक्षणसम्बन्धी प्रक्रिया अघि बढाइने महानगरको तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्