अषाढ ३०, काठमाडौं ।।
नेपाल लगातार तेस्रो एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार(आज) हङकङसँग भएको खेलमा नेपालले १८१ को फराकिलो रन बनाउँदै समूह ‘डी’ को समूह विजेता बनेर नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई २१२ रनको बलियो लक्ष्य दिएको थियो । हङकङले २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो । यस प्रतियोगितामा नेपालकी कप्तान सोनी पाख्रिनले ४ तथा मनिषा उपाध्यायले २ विकेट लिइन् ।
यसअघि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो । कप्तान सोनी पाख्रिनले नेपालको लागि सर्वाधिक ९० रन बनाइन् ।
यस्तै सावित्री धामीले ५२ तथा अलिशा यादवले अविजित २३ रन जोड्न सफल भइन् ।नेपालले यसअघि पहिलो खेलमा कतारलाई १०५ रनले अनि दोस्रो खेलमा सिंगापुरलाई १५१ रनले पराजित गरेको थियो ।









