२४ वर्षपछि विश्वकपमा फेरि अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुँदै
  • प्रमुख खबर

अषाढ ३१, काठमाडौं ।।
फिफा विश्वकप फुटबल २०२६को दोस्रो तथा अन्तिम सेमिफाइनल खेल अन्तर्गत बुधबार(आज) इंग्ल्यान्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने भएको छ । विश्व फुटबलका दुई पुराना प्रतिद्वन्द्वीबीच २४ वर्षपछि पुनः आमनेसामने हुँदैछन् ।

फिफा विश्वकप फुटबलको इतिहासमा हालसम्म
इंग्ल्यान्ड र अर्जेन्टिनाबीच पाँच पटक आमनेसामने भइसकेको छ । उक्त पाँचपटकको भेटमा इंग्ल्यान्डले तीन र अर्जेन्टिनाले दुई खेल जितेको छ। समग्रमा भने दुई टोलीबीच १४ खेल भएका छन्, जसमा इंग्ल्यान्डले ६, अर्जेन्टिनाले ३ खेल जितेको छ भने पाँच खेल बराबरीमा सकिएका थिए ।

यस विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी उत्कृष्ट लयमा छन्। उनले प्रतियोगितामा ८ गोल गर्दै टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका छन्। यता इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले समान ६–६ गोल गर्दै टोलीको आक्रमण सम्हालिरहेका छन्।

फुटबल इतिहाससँगै राजनीतिक संवेदनशीलताका कारण पनि इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको भिडन्त विशेष हुने अनुमान गरिएको छ ।

सन् १९८२ को फल्कल्यान्ड्स (अर्जेन्टिनामा ‘लास माल्भिनास’) युद्धको ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्दै खेलअघि सुरक्षा व्यवस्था कडा पारिएको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

त्यस्तै हिजो भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० को गोलअन्तरले जित हासिल गरेको छ ।
यससँगै फ्रान्सलाई पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको छ।

डलास स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनले शानदार प्रदर्शन गर्दै उपाधिको बलियो दाबेदार फ्रान्सलाई पराजित गर्न सफल भएको हो।

स्पेनका लागि मिकेल ओयार्जाबलले २२औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे भने दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले उत्कृष्ट गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्