फकल्याण्ड ब्यानरले फेरि विवादमा अर्जेन्टिना, फाइनलअघि फिफा कारबाहीको चर्चा
  • प्रमुख खबर

Oplus_131072

अषाढ ३२, काठमाडौं ।।
फिफा विश्वकप २०२६को फाइनल यात्राको लागी अर्जेन्टिनाले आफ्नो सिट सुरक्षित गरेको छ । अर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकालेको हो । तर यतिबेला अर्जेन्टिना जितभन्दा बढी खेलपछिको एक प्रदर्शनका कारण विवादको केन्द्रमा परेको छ।

इङ्ल्यान्डलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको अर्जेन्टिनी खेलाडीहरूले “फकल्याण्ड टापु अर्जेन्टिनाकै हो” भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गर्दै विजय उत्सव मनाएपछि यसले विवाद उत्पन्न गराएको छ ।

यसअघि क्वाटरफाइनलमा इजिप्टसँगको खेल पनि विवादास्पद बनेको थियो। त्यसको चर्चा सेलाउन नपाउँदै अर्जेन्टिनाको पछिल्लो उत्सवले फेरि फिफाको अनुशासनात्मक कारबाहीको सम्भावनाबारे चर्चा चुलिएको छ।

फकल्याण्ड टापु दक्षिण एटलान्टिक महासागरमा रहेको क्षेत्र हो, जसको सार्वभौमिकतालाई लिएर बेलायत र अर्जेन्टिनाबीच दशकौँदेखि विवाद जारी छ। यही विषयलाई लिएर सन् १९८२ मा यी दुई देशबीच ७४ दिनसम्म युद्धसमेत भएको थियो । यही कारण पनि दुवै देशबीचको सम्बन्धमा अझैपनि तित्तता छ।

विगतको लडाई र हालसम्म पनि नसुधारिएको सम्बन्धका कारण यी दुई देशबीचको सेमिफाइनल पनि कडा सुरक्षा व्यवस्थाबीच सम्पन्न गरिएको थियो।

खेल सकिएलगत्तै गरिएको राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शनले भने खेलभन्दा बाहिरको विवादलाई फेरि सतहमा ल्याएको छ। हुन त यो पहिलो पटक भने होइन।

सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि पनि यस्तै प्रकृतिको ब्यानर प्रदर्शन गरेको भन्दै फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो।

यसपटक पनि खेलाडीहरूको उक्त प्रदर्शनलाई लिएर फिफाले अनुशासनात्मक छानबिन वा कारबाही गर्न सक्ने अनुमान गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्