साउन ३, पोखरा ।।
पोखरा महानगरपालिका वडा नं. १५ र १७ को बीच भागमा सेती नदी थुनिँदा नदीको सतह करिब ५० मिटरले बढेको छ । नदीको पानी थुनिएर जलाशय बनेकाले सम्भावित विपद् जोखिमप्रति स्थानीयवासीलाई सचेत र सुरक्षित रहन पोखरा महानगरपालिकाले आग्रह गरेको छ ।
थुनिएको नदी एक्कासि खुल्दा वा जलाशय आसपासका दायाँ–बायाँका जमिन भासिँदा ठूलो क्षति हुन सक्ने सम्भावना रहेको छ । यस अवस्थालाई मध्यनजर गर्दै रातोपैह्रा, महत्तगौंडा, लामातारा, दोबिल्ला लगायत सेती नदी किनारका बस्तीमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन महानगरका कार्यबाहक प्रमुख मन्जुदेवी गुरुङले अनुरोध गरेकी छन्।
कार्यवाहक प्रमुख गुरुङले थुनिएको नदीलाई पुनः प्राकृतिक बहावमा फर्काउने प्रयास भइरहेको बताइन् । उनले यस विषयलाई लिएर सम्बन्धित निकाय, विज्ञ तथा सरोकारवालासँग समन्वय गरी जोखिम न्यूनीकरणका लागि आवश्यक पहल भइरहेको समेत बताइन् ।
घटनास्थलको अवलोकनका लागि उनीसँगै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला सुरक्षा समितिका पदाधिकारी, प्राविधिक विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा सम्भावित जोखिमको मूल्याङ्कन गर्दै आवश्यक पूर्वतयारी तथा सुरक्षा उपाय अवलम्बन गर्ने विषयमा छलफल भएको छ ।
महानगरपालिकाले सेती नदी आसपासका बासिन्दालाई अफवाहमा नलागी आधिकारिक सूचना तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गर्दै कुनै असामान्य अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ ।









