तत्काल वैदेशिक रोजगार रोक्न सम्भव छैन तर त्यसलाई सुरक्षित र मर्यादित बनाउने: श्रम मन्त्री यादव
  • प्रमुख खबर

साउन ५, काठमाडौं ।।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले हालको अवस्थामा वैदेशिक रोजगारलाई तत्काल रोक्न सम्भव नरहेको बताएका छन्। मंगलबार(आज) वैदेशिक रोजगार विभागको अनुगमनमा निस्किएका मन्त्री यादवले उक्त धारणा व्यक्त गरेका हुन्।

विश्वव्यापीकरणको वर्तमान परिवेशमा वैदेशिक रोजगारलाई पूर्ण रूपमा बन्द गर्न सम्भव नरहेको उल्लेख गर्दै त्यसलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारको प्राथमिकतामा रहेको उनले बताए।

यस्तै आफूहरुले नेपालबाट श्रमिकका रूपमा जाने श्रमिकहरु कुनैपनि शोषणमा नपरी काम गरे अनुसारको उचित पारिश्रमिक, सेवासुविधा र आधारभूत जीवनस्तर सुनिश्चित होस् भन्ने उद्देश्यले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल भइरहेको जानकारी दिए ।

उनका अनुसार सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन युरोपेली मुलुकजस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको स्पष्ट पारे । आन्तरिक श्रम बजारमा रहेका समस्या समाधानका लागि पनि मन्त्रालयले नयाँ योजना अघि सारेको उनले बताए ।

यसैबीच देशभित्रै पनि विभिन्न ठाउँमा कार्यरत श्रमिकहरूले उचित पारिश्रमिक नपाउने र श्रम शोषणमा पर्ने गरेको गुनासो सम्बोधन गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने मन्त्री यादवको भनाइ छ । यस प्रणालीको कार्यान्वयनसँगै श्रमिकहरूले साना कामका लागि पनि भौतिक रूपमा श्रम कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

हाल आन्तरिक श्रमिकले पनि श्रम कार्यालय धाउनुपर्ने अवस्था छ । अब ती सेवाहरूलाई पनि डिजिटल माध्यमबाट सहज बनाइने उनले बताए छ ।

त्यस्तै हिजोका दिनमा कानुन कार्यान्वयनको पक्ष फितलो हुँदा श्रमिकहरू ठगिनेदेखि लिएर यावत् कारणले मारमा पर्ने गरेको बताउँदै अबका दिनमा भने यस्ता गतिविधिविरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्