साउन ७, काठमाडौं ।।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनलाई इतिहासकै धेरै ध्वंसात्मक आन्दोलन भएको बताएका छन् ।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनलाई लिएर यस्तो बताएका हुन्।
उनले उक्त आन्दोलनका क्रममा जुन प्रकारको मान्छे मार्ने र मराउने कामका साथै सरकारी सम्पत्तिमाथि आगजनी गर्ने काम भयो सो घटना नेपालको इतिहासमा कल्पना गर्नै नसक्ने घटना घटाइएको बताए ।
द्वन्द्वकालमा माओवादीले सत्ताकब्जा गर्न हिंसात्मक बाटो रोजेको भएपनि समाजलाई भयमा राख्ने क्रियाकलाप नगरेको समेत उनले बताए । तर जेनजी आन्दोलनले भने तत्कालीन माओवादीले भन्दा धेरै हिंसात्मक बाटो रोजेर सत्ता कब्जा गरेको आरोप ओलीले लगाए ।
धेरै लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको लोकतन्त्र अहिले आएर अपहरित भएको पनि उनले बताए । त्यसैले अहिले देशमा लोकतन्त्र वापस चाहिएको उनले उल्लेख गरे ।








