साउन १२, पोखरा ।।
पोखराका अस्पतालमा ओपीडी सेवा बन्द हुदाँ बिरामी मर्कामा परेका छन् । नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण यहाँको अस्पतालमा ओपिडी सेवा बन्द हुँदा बिरामी मर्कामा परेका हुन् ।
नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा संघको आह्वानमा देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा स्थगित छन् । जसकारण यतिबेला सर्वसाधारण उपचारबाट बन्चित भएका छन् ।
चिकित्सकहरुले गरेको आन्दोलनका कारण अधिकांश अस्पतालका ओपीडीको टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएसँगै सेवा लिन गएका बिरामीहरूले समयमा उपचार नपाउँदा यसले सास्ती भोग्नु परेका छन्।
संघको आन्दोलनको असर कास्कीमा पनि परेको छ। यसले गर्दा यहाँ संचालित सरकारी, सामुदायिक र निजी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्।
नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा.सुनिल शर्माले नेपाल चिकित्सक संघको केन्द्रीय निर्देशनअनुसार गण्डकी प्रदेशका चिकित्सकहरू आन्दोलनमा सहभागी भएको जानकारी दिए ।
आन्दोलनका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , गण्डकी मेडिकल कलेज,नेपाल मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, फिस्टेल अस्पताल, फेवा सिटी अस्पताल, मेट्रोसिटी अस्पताल, पद्मा श्री अस्पताल, सहारा अस्पताल, शिशुवा अस्पताल, पोखरा अस्पताल, पद्म नर्सिङ होम, मातृशिशु मितेरी अस्पताल, मेडी प्लस एण्ड ट्रमा सेन्टर लगायत अधिकांश सरकारी तथा निजी अस्पतालको ओपीडी सेवा पूर्ण रूपमा प्रभावित भएको संघको गण्डकी शाखाले जनाएको छ।








