साउन १२, पोखरा ।।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा -६, बैदामस्थित फ्रेस जुस सेन्टरलाई कारवाही स्वरूप ५० हजार जरिवाना तिराएको छ। उक्त जुस सेन्टरमा उपभोक्ताले जुस सेवन गरेर बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनका कारवाहीमा परेको हो ।
विषेशगरी उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी अस्वच्छ वातावरणमा जुस बिक्री गरेको तथा आवश्यक कानुनी कागजातसमेत नराखेको पाइएपछि कारवाही स्वरूप जरिवाना गराएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
कार्यालयले मंगलबार(आज) विज्ञप्ति जारी गर्दै उक्त जुस सेन्टरमा जुस सेवन गरेका उपभोक्ता बिरामी भएको गुनासो प्राप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संयुक्त अनुगमन टोलीले स्थलगत निरीक्षण गरेको र सो क्रममा पसलमा अत्यधिक फोहोर र खान नमिल्ने फलफूल प्रयोग भएको फेला पारेको जनाएको छ।
अनुगमनका क्रममा पसलमा प्रयोग गर्न नमिल्ने अवस्थाका झण्डै १२ केजी फलफूल भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बरालले जानकारी दिएका छन् ।
ती फलफूलहरूमा निम्बु, स्ट्रबेरी, स्याउ, केरा, मौसम, आँप, अनार र मेवा रहेको र तत्काल त्यसलाई नष्ट गरिएको उनले बताए।
यस्तै अनुगमनका क्रममा जुस सेन्टरमा पर्याप्त सरसफाइको अभाव रहेको र व्यवसाय सञ्चालनसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन नसकेको पनि प्रशासनले जनाएको छ।
अनुगमन टोलीमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, सञ्चारकर्मी तथा राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रशासनले अनुगमनपछि जुस सेन्टरलाई आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन विभिन्न निर्देशनसमेत दिएको जनाएको छ । जसअन्तर्गत जुस बनाउने पसल तथा प्रयोग हुने सामग्री नियमित रूपमा सरसफाइ गर्न, व्यवसाय तथा पेशा दर्ता/नवीकरण अनिवार्य गर्न, नापतौलसम्बन्धी उपकरणको दर्ता तथा नवीकरण गर्न, व्यवसायसँग सम्बन्धित सबै कानुनी कागजात अद्यावधिक राख्न, प्रयोग गरिने फलफूललाई छुट्टै, स्वच्छ र सुरक्षित रूपमा भण्डारण गर्न, अखाद्य रङ वा फ्लेभर प्रयोग नगर्न, ग्राहकलाई सेवा दिएपछि अनिवार्य रूपमा बिल उपलब्ध गराउन तथा खरिद–बिक्रीका बिल सुरक्षित राख्न निर्देशन दिएको छ।
प्रशासनका सहायक अधिकारी बरालले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य व्यवसायमा कुनैपनि लापरबाही स्वीकार्य नहुने स्पष्ट गर्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाइने स्पष्ट पारे ।
त्यस्तै उपभोक्तालाई पनि अस्वच्छ खाद्य सामग्री बिक्री वा स्वास्थ्यमा असर पुग्ने गतिविधि देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह पनि उनले गरेका छन् ।








