पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने ८ जना कास्की प्रहरीको नियन्त्रणमा
  • प्रमुख खबर

Oplus_131072

साउन १३, पोखरा ।।
पोखरामा पर्यटक र यात्रुलाई अनावश्यक रूपमा दुःख दिने गतिविधिमा संलग्न ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पोखरा–१७ बिरौटाबाट ५ जना र पोखरा–६ हल्लनचोक क्षेत्रबाट ३ जना गरी जम्मा ८ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार राति करिब १०:४५ बजेको समयमा लेकसाइड र बिरौटा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी आकर्षक तथा सस्तोमा होटल मिलाइदिने भन्दै बाटोमै रोकेर बार्गेनिङ गर्ने, पछ्याउने तथा अनावश्यक रूपमा दुःख दिने व्यक्तिहरू सक्रिय रहेको सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो।

बिरौटा र हल्लनचोकबाट खटिएको प्रहरी टोलीले उक्त गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।

विषेशगरी पर्यटकलाई लक्षित गरी हुने यस्ता गतिविधिले पोखराको पर्यटन छविमा नकारात्मक असर पार्ने भएकाले यस्ता कार्यमा संलग्न व्यक्तिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्