साउन १३, पोखरा ।।
लागूऔषधविरुद्ध स्टिङ अपरेसन गर्दै आएको कास्की प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको ट्याम्के गाउँपालिका–६ स्थायी घर भई हाल पोखरा–१४ शुभकामना टोल बस्ने ३३ वर्षीय मनोज कुमार मगराती र म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्थायी घर भई हाल पोखरा–१० मिलनटोल बस्ने ३७ वर्षीय विश्वास पुन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पोखरा -१४, छिनेडाँडाबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूका साथबाट ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने पदार्थ २३ ग्राम ९३ मिलिग्राम बरामद भएको कास्कीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।
त्यस्तै उनीहरूको साथबाट नगद रु. २ लाख ८१ हजार ५ सय र चार थान मोबाइलसमेत बरामद गरिएको उनले बताए ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ। घटनाको सञ्जाल, लागूऔषधको स्रोत तथा यससँग संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









