पतञ्जली युवा नेपाल समिति कास्कीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

साउन १८, पोखरा ।।
सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात गर्दै पतञ्जली युवा नेपाल समिति कास्कीको आयोजनामा रक्तदान कार्यक्रम भएको छ। गुरु पूर्णिमा, जडीबुटी दिवस तथा आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्यको शुभ जन्मोत्सवको अवसरमा समितिले संचालन गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतबार उक्त कार्यक्रम भएको हो ।

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था(नेष्डो) नेपालको व्यवस्थापकीय सहयोग एवम् नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा – १७ स्थित नेष्डो नेपालको प्राङ्गणमा भएको स्वेच्छिक रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ ।

“तपाईंको एक थोपा रगत, कसैको अमूल्य जीवन”भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पोखरा –१७ का वडा अध्यक्ष राधिका योगीले युवाहरू सामाजिक रूपान्तरणका सशक्त संवाहक भएको उल्लेख गर्दै उनले रक्तदान जस्तो महान् मानवीय अभियानले सहयोग, सद्भाव, मानवता र जीवनप्रतिको उत्तरदायित्वको सन्देश समाजभर फैलाउने बताइन्। उनले रक्तदानभन्दा ठूलो दान अरु हुन नसक्ने भन्दै यस्ता जीवनरक्षक अभियानमा युवाको सक्रिय सहभागिता निरन्तर बढ्दै जानुपर्नेमा दिइन्।

कार्यक्रममा विशेष अतिथिका उपस्थित नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईंले रक्तदान केवल रगत दिने कार्य मात्र नभई मानवता, करुणा र जीवनप्रतिको उच्च जिम्मेवारीको प्रतीक भएको बताए ।

उनले रक्तदानको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको हामी जोकोहीले दिएको एक युनिट रगतले कसैको जीवन बचाउन सक्ने भएकाले यसलाई सबैभन्दा ठूलो मानवीय सेवाका रूपमा लिनुपर्ने धारणा राखे।

 

युवाहरूको अग्रसरतामा सञ्चालन हुने यस्ता सामाजिक अभियानले समुदायमा सेवाभाव, आपसी सद्भाव र सहयोगको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास समेत उनले व्यक्त गरे।

समितिकी अध्यक्ष सोचना सेन ठकुरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उनले रगत उत्पादन गर्ने न त कुनै कारखाना छ, न त यसको कृत्रिम विकल्प नै उपलब्ध छ। त्यसैले आवश्यक पर्दा मानिसको जीवन बचाउने एकमात्र भरपर्दो स्रोत भनेको स्वस्थ व्यक्तिले स्वेच्छाले गरेको रक्तदान भएको बताइन् ।

त्यस्तै उनले रक्तदान भनेको जीवन बचाउने सबैभन्दा पुण्य काम भएको पनि उल्लेख गर्दै त्यसैले यसलाई जीवनदान भनिएको बताइन् । जहाँ दाताको नामभन्दा ठूलो प्राप्तकर्ताको जीवन हुने स्पष्ट पारिन् । उनले रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, अतिथिहरू तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक र मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन् । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण-पत्रद्वारा सम्मान समेत गरिएको थियो ।

समितिको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन साउन १० पोखरा-२१ क्रिष्तिस्थित शिवढुन्गा नरहरीनाथ गुफामा ७० वटा भन्दा बढी जडीबुटी तथा फलफुलको विरुवा रोपण गरिएको समितिकी सचिव सरिता हमालले जानकारी दिइन् ।

यस्तै समितिको दोस्रो कार्यक्रम अन्तर्गत सावाँ २६ गते पोखरा –१४, बाच्छेबुडुवास्थित श्री पुष्प करणीय परोपकार गोकुलधाम परिसरमा समेत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। सो कार्यक्रम श्रद्धेय गुरु भागवत भास्कर कमल नयन गौतमको सानिध्यमा बहुगुणी औषधीय जडीबुटीजन्य बिरुवाहरू रोप्नुका साथै गायत्री मन्त्र जप गरिएको उनले बताईन् ।

उक्त कार्यक्रम पतञ्जली योग समिति पोखरा महानगरको आयोजना, महिला तथा पतञ्जलि योग समिति गण्डकी प्रदेश, कास्की र युवा नेपाल समिति गण्डकी तथा कास्कीको समन्वयमा सम्पन्न भएको सचिव हमालले उल्लेख गरिन् ।

उनका अनुसार समितिको यसै सप्ताहव्यापी कार्यक्रमअन्तर्गत साउन १९ गते मंगलबार पतञ्जली प्रदेश योग साधना केन्द्रहरूमा गायत्री मन्त्र जप, हमन र यज्ञ गरी समापन हुनेछ ।

उनका अनुसार समितिको यसै सप्ताहव्यापी कार्यक्रमअन्तर्गत साउन १९ गते मंगलबार पतञ्जली संस्थाको आयोजनामा प्रदेशस्तरीय योग साधना केन्द्रहरूमा गायत्री मन्त्र जप, हमन र यज्ञ गरी समापन हुनेछ । जसअन्तर्गत गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडस्थित केदारेश्वर मन्दिर परिसरमा सो कार्यक्रम हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्