साउन महिनाको तेस्रो सोमबार, पोखराको केदारेश्वर मन्दिरमा जल चढाउने भक्तजनको घुईचो
  • प्रमुख खबर

साउन १८, पोखरा ।।

आज साउन महिनाको तेस्रो सोमबार पोखराको केदारेश्वर शिव मन्दिरमा जल चढाउने भक्तजनको घुइँचो लागेको छ । धार्मिक आस्था राख्नेहरुका लागि आज विशेष दिन रहेको हुदाँ शिव मन्दिर जाने, पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने गरिन्छ । महिलाले साउन महिनामा हरियो चुरापोते लगाउने, हातमा मेहन्दी लगाउने गर्दा साथै विवाहित महिलाहरु सोमवारको व्रत वस्दा आफ्नो श्रीमानको आयु वढ्छ भने अविवाहितलाई राम्रो र अशल श्रीमान मिल्छ भन्ने धार्मिक प्रचलन छ ।

यता पोखरामा पनि केदारेश्वर महादेवमणि सेवाश्रम समितिको आयोजनामा साउनमा हुने बोलबम कार्यक्रम तेस्रा सोमबार पनि भएको छ । पोखराको एकमात्र बोलबमधाम केदारेश्वरमा साउनको सोमबार आज पूजाआजा गर्ने र शिवलिंगमा जल चढाउने भक्तजनको ठूलो भीड लागेको थियो । सेती किनार गाईघाटबाट जल लिएर भक्तजनले मन्दिरमा आराधना गर्दै जल चढाएका हुन् ।

पोखरामा रातिदेखि झरी परेको छ । तर झरीको प्रवाह नगरी भक्तजनको भीडले दिउँसो अबेरसम्म मन्दिरमा भक्तजन लामबद्ध देखिन्थे । गाईघाटमा १०८ धारा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकीसहित ८ किलोमिटर पैदलयात्रा गरी बोलबमधाममा १०८ शिवलिङ्गमा जलार्पण गर्ने संयोग केदारेश्वरमा रहेकोले भक्तजनको भीड वर्षेनी बढेको बोलबम आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्