साउन १८, काठमाडौं ।।
नेपाल आयल निगमले नेपाल विद्युत् प्राधिकरणलाई करोडौँ रुपैयाँको क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि निगमले
प्राधिकरणलाई ११ करोड २१ लाख रुपैयाँको क्षतिपूर्ति तिर्नुपर्ने भएको हो ।
प्राधिकरणले सुनसरीको दुहवीस्थित डिजेल जेनेरेटर प्लान्टका लागि नेपाल आयल निगमबाट फर्नेस आयल खरिदको सम्झौता गरेको थियो । उक्त इन्धनमा बढीमा एक प्रतिशतसम्म पानीको मात्रा हुनुपर्नेमा २६ प्रतिशतसम्म पानी भेटिएको भन्दै निगम विरुद्ध प्राधिकरण अदालत गएको थियो ।
करिब ११ वर्ष पुरानो घटनामा सर्वोच्च अदालतले गुणस्तरहीन इन्धन उपलब्ध गराएकोमा निगमलाई दोषी ठहर गरेको हो । विषेशगरी ऊर्जा संकट न्यूनीकरण गर्न नेपाल विद्युत् प्राधिकरणले सुनसरीको दुहवीमा मल्टिफ्युल पावर प्लान्ट आयोजना सुरु गरेको थियो ।
प्राधिकरणले विद्युत् उत्पादन गर्न आवश्यक पर्ने फर्नेस तेल नेपाल आयल निगमबाट आपूर्ति गर्ने सम्झौता गरेको थियो । उक्त सम्झौता बमोजिम विद्युत् प्राधिकरणले आफूलाई आपूर्ति हुने इन्धनमा पानीको मात्रा तीन प्रतिशत भन्दा कम हुनुपर्ने भनी सर्त तोकेको थियो, जसमा निगम सहमत भएको थियो । तर सर्त अनुसार निगमले उपलब्ध गराएको आयलमा पानीको मात्रा बढी भएपछि प्लान्ट सञ्चालन भएको केही दिनमा नै त्यसका उपकरणहरूमा खराबी देखिन थालेको थियो।








