राष्ट्रिय विभूतिको स्मरणमा बगाले थापाहरूको ऐतिहासिक भेला पोखरामा सम्पन्न
  • प्रमुख खबर

साउन १८, पोखरा ।।

राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको जन्मजयन्ती तथा राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको स्मृति दिवसका अवसरमा बगाले थापा क्षत्री जिल्ला समिति, कास्की र सातसय बगाले थापा समाज बाग्लुङ, गलकोटको आयोजनामा पोखराको क्षत्री समाजको सभाहलमा भव्य ऐतिहासिक विचारगोष्ठी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल एकीकरण, राष्ट्रिय स्वाभिमान तथा वीर पुर्खाहरूको ऐतिहासिक योगदानलाई स्मरण गर्दै इतिहासको संरक्षण, अध्ययन–अनुसन्धान र भावी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रमको अध्यक्षता मोहन थापाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति एवं वरिष्ठ चिकित्सक प्रा. डा. बुद्धिबहादुर थापाको गरिमामय उपस्थिति रहेको थियो।

विशेष अतिथि तथा कार्यपत्र प्रस्तुतकर्ताका रूपमा प्रा. डा. ज्ञानबहादुर कार्कीले मुख्तियार भीमसेन थापाको राष्ट्रभक्ति, दूरदर्शी नेतृत्व, कूटनीतिक क्षमता तथा नेपालको स्वाधीनता जोगाउन उनले निर्वाह गरेको ऐतिहासिक भूमिकामाथि विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी प्रा. डा. दिनबहादुर थापाले बडाकाजी अमरसिंह थापाको वीरता, नेपाल एकीकरण अभियान तथा अंग्रेज–नेपाल युद्धमा उनले पुर्‍याएको अतुलनीय योगदानबारे प्रकाश पारे। प्रस्तुत कार्यपत्रमाथि प्राध्यापक हस्तबहादुर थापा र प्राध्यापक मानबहादुर थापाले टिप्पणी गर्दै यस्ता ऐतिहासिक व्यक्तित्वहरूको योगदानलाई अझ व्यापक रूपमा अध्ययन, अनुसन्धान र पुस्तान्तरण गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।क्षत्री समाज नेपालका अध्यक्ष रिब बहादुर थापाले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा कास्कीसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरू तथा काठमाडौं, भक्तपुर र चितवनबाट समेत बगाले थापा समुदायका अग्रज, बुद्धिजीवी, समाजसेवी र इतिहासप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन बेलुकाजी थापाले गरेका थिए । धुर्वराज थापा र खिम बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै इतिहास, संस्कृति र पुर्खाहरूको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताए ।

त्यसैगरी बक्रेक पोखरा आमा समूहको तर्फबाट स्वागत गीत प्रस्तुत गरिएको थियो भने रचना थापाले आकर्षक स्वागत नृत्य प्रस्तुत गरी कार्यक्रममा थप सांस्कृतिक गरिमा र उत्साह थपेका थिए । कार्यक्रम अबधिभर वक्ताहरूले राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापा र मुख्तियार भीमसेन थापा केवल बगाले थापा समुदायका मात्र नभई सम्पूर्ण नेपालीका साझा राष्ट्रिय गौरव भएको उल्लेख गर्दै उनिहरूको राष्ट्रभक्ति, त्याग, बलिदान, स्वाभिमान र दूरदर्शी नेतृत्वबाट वर्तमान पुस्ताले प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा मोहन थापाको संयोजकत्वमा बगाले थापा क्षेत्री गण्डकी प्रदेश समिति घोषणा गरियाे। नवगठित समितिले इतिहास संरक्षण, संगठन सुदृढीकरण तथा सामाजिक एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

अध्यक्ष मोहन थापाले सहभागी सम्पूर्ण अतिथि, वक्ता, आयोजक, सहयोगी तथा उपस्थित महानुभावहरूप्रति धन्यवाद ज्ञापन गर्दै इतिहासको संरक्षण, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन सबैलाई आह्वान गरे। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको राजेन्द्र बहादुर थापाले जानकारी दिए । ।

तपाईको प्रतिक्रिया दिनुहोस्