साउन २२, काठमाडौं ।।
नेपाली फुटबलले एसियाली फुटबल महासंघ (एएफसी) को खेल गुमाएको छ । फिफाको निलम्बनका कारण नेपालले चीनमा आयोजना हुने २० वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको हो ।
यस प्रतियोगितासँगै नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ । जसअन्तर्गत यसअघि एएफसी महिला च्याम्पियन्स लिग र एएफसी १७ वर्ष मुनिको महिला एसियन कप क्वालिफायर्सबाट पनि नेपाल बाहिरिएको थियो ।
फिफाले गएको असार ११ गते अखिल नेपाल फुटबल संघ, एन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो । यही विलम्बनका कारण नै नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन नपाएको हो । यदि नेपाल फिफाको निलम्बनमा नपरेको भए यस प्रतियोगिताको समूह ‘आई’ मा थियो ।
यस्तै यता, दक्षिण एसियाली फुटबल महासंघ, साफले सेप्टेम्बर १ भित्र फिफाको निलम्बन फुकुवा भए मात्रै नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ । एएफसी २० वर्षमुनिको एसियन कप क्वालिफायर्स चीनमा अगस्टको अन्तिम हप्तादेखि शुरु हुँदैछ ।









