साउन २३, काठमाडौं ।।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते नेपाल फर्कने भएका छन् । यसअघि उनी साउन २६ गते राति ९:४५ बजे स्वदेश फर्किने तय भएको थियो । तर अहिले आएर उनको नेपाल फर्कने मिति परिवर्तन भएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
उनी साउन २८ गते मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने भएका छन् । यस्तै कांग्रेस संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले पनि पूर्वसभापति देउवाको स्वदेश फर्किने समय परिवर्तन भएको बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।
कांग्रेसको संस्थापन इतर समूहले २९ साउनदेखि काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने बताएको छ । उक्त समूहले भेलाको तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरेको छ ।









