साउन २४, काठमाडौं ।।
आइतबार(आज) विश्व आदिवासी दिवस, नेपालसहित अन्य देशमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ ।
सन् १९९४ डिसेम्बर २३ मा राष्ट्रसंघ महासभाले हरेक वर्ष अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित यो दिवस मनाउन थालिएको हो ।
विश्वको ९० देशमा झण्डै ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्ने राष्ट्रसंघले जनाएको छ । उनीहरू विश्वको कुल जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन् ।
विषेशगरी उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसङ्ख्यक समुदायभन्दा पृथक छन् ।
इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लङ्घन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।









