साउन २७, काठमाडौं ।।
आज अगस्ट १२ तारिख अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ ।
विषेशगरी युवाहरुको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस यो दिवस सन् २००० देखि संयुक्त राष्ट्र संघको आह्वानमा मनाउन थालिएको हो । यस अवसरमा आज देशभर युवा लक्षित विभिन्न कार्यक्रमको आयोजना भइरहेको छ ।
दिवसको मुख्य उद्देश्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउने, युवामैत्री शासन प्रवद्र्धन गर्न सहयोग गर्ने, युवा केन्द्रित सरकारी, गैरसरकारी, निजी संस्था र निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्ने रहेको छ ।
आज दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न छ वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ । यस्तै सातै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार १७३ जना अर्थात् कूल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत छ । युवा अवस्थालाई मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूहका रूपमा लिइन्छ ।








