साउन २७, पोखरा ।।
भारतीय गोर्खा सैनिकमा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालले पोखरामा बृहत् र्याली गरेको छ । बुधबार(आज) उनीहरूले छ वटा माग राख्दै बृहत् र्याली गरेका हुन् ।

ब्रिगेड सरकारसँग गरेका मागहरुमा नेपाली युवालाई भारतीय सेनामा भर्ती हुने अवसर पुनः प्रदान गर्नुपर्ने, २११ वर्ष पुरानो गोर्खा भर्तीको इतिहासलाई निरन्तरता कायम गर्नुपर्ने, बेरोजगार युवालाई रोजगारीको अवसर सुनिश्चित गर्नुपर्ने देखि लिएर गोर्खा भर्तीसम्बन्धी विषयमा नेपाल र भारतबीच कूटनीतिक माध्यमबाट तत्काल संवाद सुरु गर्नुपर्ने, भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न र भारतीय सेनामा सेवा गरेका भूतपूर्व सैनिकको योगदान र पहिचानलाई सम्मान गर्नुपर्ने माग रहेका छन् ।
पोखरा रंगशालाबाट सुरु भएको र्याली पृथ्वीचोक, सृजनाचोक, रत्नचोक हुँदै सहिदचोकमा पुगि टुङ्गिएको थियो। र्याली समापन भएलगत्तै उनीहरूले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमारसिंह गुरुङमार्फत सरकारलाई दुई बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् ।
ब्रिगेडका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङलाई सम्बोधन गरिएको छ । सन् १८१४–१८१६ को नेपाल -अंग्रेज युद्ध र सुगौली सन्धिपछि सुरु भएको गोर्खा सैनिक भर्तीले २११ वर्ष पूरा गरिसकेको छ । तर भारत सरकारले १४ जुन २०२२ देखि लागु गरेको ‘अग्निपथ’ योजनापछि नेपाल सरकारले विभिन्न कारण देखाएर भर्ती रोकेको थियो ।
अग्निपथ नीति अन्तर्गत साढे १७ देखि २१ वर्षका युवाहरू (अग्निवीर) भर्ना हुने र ४ वर्षको सेवापछि २५ प्रतिशतलाई स्थायी गरिने प्रावधान रहेको ब्रिगेडका अध्यक्ष खत्रीले जानकारी दिएका छन् ।
विषेशगरी भर्ती प्रक्रिया रोकिँदा पुर्खाहरूले आर्जन गरेको वीरताको इतिहाससमेत मेटिने र भूपू सैनिकका नाममा आउने अर्बौं रुपैयाँ रेमिट्यान्स एवं कल्याणकारी योजना गुम्ने खतरा समेत रहेको उनको भनाइ छ ।
उनका अनुसार २०८१ वैशाख ४ मा गृहमन्त्रालयले गरेको निर्णयअनुसार ‘सैनिक’ शब्दले नेपाली सेनालाई मात्र बुझाउने र अन्य संस्थाले यो शब्द प्रयोग गर्दा सेनाको छविमा असर पर्ने भन्दै देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई त्यस्ता संस्थाहरू नवीकरण नगर्न निर्देशन दिइएको थियो ।
उक्त निर्देशनपछि २ वर्षदेखि संस्था नवीकरण हुन नसक्दा नेपालमा रहेका भारतीय, ब्रिटिश र सिंगापुरका ठूलो संख्यामा रहेका भूपू सैनिक अपमानित र बेसहारा महशुस गरिरहेको उनले बताए। यस विषयलाई पनि आफूहरुले ज्ञापनपत्रमा उल्लेख गरेको जानकारी दिए ।









