साउन २८, काठमाडौं ।।
सिंगापुरबाट थप उपचारको लागि भन्दै हङकङ पुगेका
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार(आज) स्वदेश फर्किँदैछन् । झण्डै छ महिनाको लामो विदेश बसाईपछि उनी आज थाई एयरबाट स्वदेश फर्किन लागेका हुन् ।
उनी स्वदेश फर्कने भएपछि कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको कांग्रेस इतर समूहले जनाएको छ ।
कांग्रेस नेता डा. प्रकाशशरण महतकाअनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा आज मध्याह्न साढे १२ बजे काठमाडौं अवतरण हुने छन् । विषेशगरी इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकालिने जानकारी दिइन् ।
गत वर्ष भदौ २४ को जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका उनी फागुन १३ गतेको राति सिंगापुर गएका थिए । यस्तै उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन् । इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताएका छन् । तीन दिनसम्मे चल्ने भनिएको राष्ट्रिय भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।









