अविरल वर्षापछि मोदीखोलामा आएको बाढीले दुई पुल र मन्दिर बगायो, तीन जनाको सकुशल उद्धार
  • प्रमुख खबर

Oplus_0

साउन २९, पोखरा ।।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर-६ मा दुईवटा पुल र मन्दिर बगाएको छ । हिजो परेको अविरल वर्षासँगै मोदीखोलाको बहाव बढेपछि त्यहाँका दुई पुल र मन्दिर बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्र कुमार पासवानले दिएको जानकारी अनुसार अन्नपूर्ण गाउँपालिका वडा नम्बर-५ र ६ को सिमाना पर्ने मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिर मोदीखोलाले बगाएको हो । सो ठाउँमा रहेका दुईवटा पुल पनि बगाएको उनले जानकारी दिए ।

पर्वत र कास्की जोड्ने तथा मन्दिर आवतजावत गर्ने मेटल पुल खोलाले बगाएको हो । पुल बगाएपछि मन्दिर परिसरमा फसेका तीन व्यक्तिको समेत सकुशल उद्धार गरिएको छ ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार कास्कीको पोखरा महानगरपालिका- १८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको बिरेठाँटी माध्यमिक विद्यालयका ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षीय कानिर्माण गिरीलाई सकुशल उद्धार गरिएको हो ।

हिजो परेको अविरल पानीका कारण त्यस ठाउँमा शुक्रबार(आज)बिहान सवा २ बजे बाढी आएको थियो । त्यही बाढीका कारण कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएपछि उनीहरू मन्दिरमै फसेका थिए ।

उनीहरूलाई आज बिहान सवा ८ बजे सशस्त्र प्रहरी बल नेपाल २४ कालिका गण कास्कीबाट गएको रोप रेस्क्यु र गोताखोर सहितको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्