साउन २९, काठमाडौं ।।
नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला शुक्रबार(आज) बाट सुरु भएको छ। यो भेला समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो।
तीन दिनसम्म चल्ने यस भेलालाई हिजोमात्रै काठमाडौं आइपुगेका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्।
जेनजी आन्दोलनको क्रममा घाइते भएका उनी उपचारका लागि सिंगापुर गएका थिए। सिंगापुरबाट उनी थप उपचारको लागि भन्दै हङकङ गएका थिए। पाँच महिनापछिको विदेश बसाई पछि हिजो मात्र उनी नेपाल फर्किएका हुन् ।
उनको स्वागतमा उनकै समूहका नेता कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। त्यहाँबाट बाजागाजासहित चुनदेवीमा रहेको यस समूहको सम्पर्क कार्यालयमा देउवालाई पुर्याइयो । त्यहाँ उनले सम्बोधनसमेत गरेका थिए। इतर समूहको बन्दसत्र साउन ३० र ३१ गते हुने बताइएको छ।








