भदौ ५, पोखरा ।।
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनको चुनावी सरगर्मी बढ्दै जाँदा शोभा गौतमले आफ्नो प्यानल घोषणा गरेकी छन् । हाल संघको महासचिवको जिम्मेवारीमा रहेकी गौतमले शुक्रबार (आज) बिहान पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन् ।
‘समावेशी टिम, जुझारु नेतृत्व र सबल संघ, समृद्ध पोखरा’ भन्ने नारासहित उनको प्यानल चुनावी मैदानमा होमिएका छन् । संघको नयाँ नेतृत्वका लागि भने आगामी भदौ २० र २१ गते निर्वाचन हुँदैछ ।
गौतमको टिममा वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा बालकृष्ण कोइराला र उपमहासचिवमा यादव पोखरेल रहेका छन्।
पत्रकार भेटघाट कार्यक्रममा गौतमले एकताबद्ध भएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमतिअनुसार प्यानल नै बनाइएको बताइन्। बदलिँदो आर्थिक परिवेश, प्रविधिको तीव्र विकास र उद्योगी–व्यवसायीले सामना गरिरहेका नयाँ चुनौतीलाई सम्बोधन गर्न यतिबेला संघमा सक्षम, सक्रिय र परिणाममुखी नेतृत्व आवश्यक रहेकोमा जोड दिइन्।
गौतम नेतृत्वको प्यानलले आफूहरू अनुभव र ऊर्जाको संयोजन भएको समावेशी तथा प्रतिबद्ध टिम भएको दाबी समेत गरेका छन्। उद्योग, व्यापार, पर्यटन, महिला उद्यमशीलता र युवा व्यवसायीदेखि निजी क्षेत्रका विभिन्न पुस्ताको प्रतिनिधित्वलाई समेटेर संघलाई नयाँ गति दिने लक्ष्य आफूहरुको रहेको पनि उनले बताइन् ।
विषेशगरी आफूहरूको प्यानलले उद्योगी–व्यवसायीका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने, स्थानीय उत्पादन र स्थानीय बजारलाई प्राथमिकता दिने तथा युवा र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने एजेन्डा अघि सारेको स्पष्ट पनि परेको छ।
यस्तै लगानीमैत्री वातावरण निर्माणका लागि सरकार तथा सम्बन्धित निकायसँग सहकार्य र पैरवी गर्ने, पोखराको पर्यटन तथा आर्थिक सम्भावनालाई उद्योग–व्यवसायसँग जोड्ने र संघलाई प्रविधिमैत्री, आधुनिक तथा पारदर्शी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि प्यानलले जनाएको छ।
गौतमले संस्थाको गौरवपूर्ण इतिहास र निजी क्षेत्रप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाइन् । उनले संघलाई अझ सबल, साझा, गतिशील र पारदर्शी बनाउने उद्देश्य सहित साना, मझौला र ठूला सबै उद्योगी र व्यवसायीको साझा आवाजका रूपमा संघलाई स्थापित गर्ने तथा निजी क्षेत्रको सम्मान, सुरक्षा र व्यावसायिक अधिकारका लागि सशक्त पैरवी गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको बताइन्।
संस्थाको ४६औँ नेतृत्वका लागि गौतमसहित चार जना आकांक्षी चुनावी मैदानमा देखिएका छन्। उनले आफ्नो प्यानल सार्वजनिक गरेपनि अर्जुन पोखरेल, उत्तम बुद्धाचार्य र बलराम आचार्यले भने अहिलेसम्म आफ्नो प्यानल सार्वजनिक गरेका छैनन्।
यसपटक पोखरा उद्योग वाणिज्य संघको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। गौतमले पहिलोपटक आफ्नो टिम सार्वजनिक गरेर चुनावी रणनीतिको सुरुवाती गरेकी छन् भने अब अन्य आकांक्षीको प्यानलतर्फ उद्योगी–व्यवसायीको नजर परेको छ।
२०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघमा अहिले २ हजार ७ सय ३१ सदस्य आवद्ध छन्। महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत भदौ ५ गते उम्मेदवारहरूले मनोनयनपत्र लिएका छन् भने भदौ ८ गते मनोनयनपत्र दाखिला गर्नुपर्नेछ।









