भदौ ५, पोखरा ।।
जिल्ला समन्वय समिति कास्की(जिसस)ले स्थानीय तहरूको आर्थिक वर्ष २०८२-८३ को वार्षिक समिक्षा तथा असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले उद्घाटन गरेकी हुन् ।
पहारीले नेपालको संविधानले व्यवस्था गरेका तीन तहका सरकारहरूबीच प्रभावकारी समन्वय र सहजीकरणमा जिसस कास्कीको भुमिका प्रसन्निए भएको उल्लेख गर्दै योजनाको छनोट र कार्यान्वयनका लागि स्पष्ट कानुनी र व्यवस्थित संरचना निर्माण जरुरी देखिएको उल्लेख गरिन् ।
जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर र विकास निर्माणका कार्यहरूमा गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार संचालन ऐनले व्यवस्था गरे अनुसार समिक्षा कार्यक्रम अर्ध वार्षिक र वार्षिक रूपमा आयोजना गर्ने गरिएको उल्लेख गरे ।
उनले विकासका योजना छनोट प्रक्रिया र प्राथमिकिकरणमा देखिएका त्रुटिका कारण पालिकाहरूको कार्य सम्पादनको स्तर अपेक्षित रूपले उत्कृष्ट हुन नसकेको उल्लेख गर्दै कास्कीका पालिकाहरूलाई सुशासन ,पारदर्शीता र जवाफदेहिता सहितका सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे ।
यस्तै पौडेलले कास्कीका पालिकाहरूलाई बेरूजुमुक्त पालिका बनाउन आग्रह पनि गरे। आज कास्कीका पोखरा महानगरपालिका ,अन्नपूर्ण, माछापुच्छ्रे, रूपा र मादी गाउँपालिकाहरूको आर्थिक बर्ष २०८२-८३ को समिक्षा गरिएको र आगामी सोमबार विकासतर्फका कार्यालय एवं मंगलबार सामाजिक सेवा प्रदायक कार्यालयहरूको समिक्षा गरिने जिसस अधिकारी नवराज बरालले जानकारी दिए।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका महासचिव गोकर्ण अधिकारी, नागरिक समाज कास्कीका अगुवा राम बहादुर पौडेल, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङसहितले आफ्ना भनाइ व्यक्त गरेका थिए।
सो समिक्षा कार्यक्रममा कास्कीका पालिकाका प्रमुख, कार्यकारी अधिकृत, नागरिक समाजका अगुवाहरू, उद्योगी व्यवसायी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।









