पोखरा १६, श्रवणकुमार जेष्ठ नागरिक केन्द्रले असोजको दोस्रो साता सेवा  शुभारम्भ गर्ने
  • प्रमुख खबर

भाद्र ०७, पोखरा ।।

जेष्ठ नागरिकहरुको सुरक्षा र सम्मानजनक सामाजिक सहभागिताका लागि पोखरामा स्थानीय व्यक्ति एवं संघ संस्था नै सक्रिय भएका छन् । स्थानीयले उनीहरुको अनुभव सामाजिक विकासमा लगाउनुको साथै सेवा भावको उद्धेश्यलाई पुरा गर्न पोखराको बाटुलेचौरस्थित कोलगैरामा श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्र नै स्थापना गरेका छन् । सो केन्द्रले आगामी असोजको दोस्रो सातामा सेवा संचालन गर्ने गरी तयारी तिब्र बनाएको संस्थाले जनाएको छ । स्थानीय व्यक्ति, संघ संस्था र प्रदेश तथा महानगरको सहयोगमा भोतिक निर्माण सम्पन्न गरेको केन्द्रले आगामी असोज १४ गते अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर सेवा संचालन गर्न लागेको अध्यक्ष दानबहादुर बानियाँले जानकारी दिए ।

उनीहरुको सम्मान, सुरक्षा, स्वास्थ्य सेवा तथा सामाजिक सहभागितामा संलग्न गराई ज्येष्ठ नागरिकहरूलाई घरजस्तै वातावरण प्रदान गर्ने लक्ष्यका साथ सेवा संचालन गर्न लागिएको उनले बताए । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उनीहरुलाई केन्द्रमा राखिने र दिनभरि भेटघाट, मनोरञ्जन, स्वास्थ्य परामर्श तथा सामाजिक गतिविधिमा सहभागी गराईने अध्यक्ष बानियाँले बताए । उनले भने- “केन्द्रमा राती बस्ने सेवा छैन, दिनभर यहाँ रहेका जेष्ठ नागरिकलाई घर जस्तै पारिवारिक बाताबरण उपलब्ध गराईन्छ ।” उनका अनुसार केन्द्रमा जोसुकै जेष्ठ नागरिकले पनि सेवा लिन सक्नेछन् ।

केन्द्रलाई दिगो रुपमा संचालनका लागि बिभिन्न व्यक्ति, संघ संस्था, व्यवसायिक प्रतिष्ठान र स्थानीय क्लब, आमा समुहसँग सामुहिक छलफल र समन्वय भईरहेको छ ।केन्द्रले दुई प्रकारको सदस्यतासमेत जारी गरेको छ । साधारण सदस्यका लागि बार्षिक शुल्क तोकिएको छ भने आजिवन सदस्यका लागि १० हजार शुल्क तोकिएको जनाईएको छ । केन्द्र सञ्चालनको नियमित खर्च चुनौतीपूर्ण भए पनि समितिले दीर्घकालीन योजना बनाएको जनाएको छ। यहाँ आश्रय लिने ज्येष्ठ नागरिकको औषधोपचार, हेरचाह, कर्मचारी तलब तथा अन्य व्यवस्थापनका लागि स्रोत जुटाउन थप छलफल र समन्वय भईरहेको समेत अध्यक्ष बानियाँको भनाइ छ।तत्कालका लागि केन्द्र संचालन स्वरुप भवन निर्माण सम्पन्न भएपनि गुरु योजना अनुरुपका कार्य बाँकी नै रहेको निर्माण समितिका संयोजक चित्रबहादुर थापाले जानकारी दिए ।

करिब ४ करोडको गुरुयोजना भएपनि हाल करिब २ करोड ४० लाखको निर्माण कार्य सम्पन्न भएको उनले बताए । आर्थिक स्रोत जुट्ने वित्तिकै बाँकी कामलाई निरन्तरता दिईने संयोजक थापाको भनाई छ । अझै पनि पर्खाल निर्माण, हरियाली बगैंचा, सडक निर्माण र रेलिङको काम बाँकी नै रहेको छ । केन्द्रका सहसचिव सोभित थापाले शान्त र हरियाली बाताबरणका कारण पनि यस क्षेत्र जेष्ठ नागरिकका लागि उपयुक्त रहेको बताए । केन्द्रका प्रचार संयोजक शिवराज देवकोटाले बिभिन्न समुहसँग भएका छलफलले केन्द्र संचालनमा सहजता आउने बताए । उनले पछिल्ला दिनमा केन्द्र संचालनका बिषयमा त्यस क्षेत्रका आमा समुह, सामाजिक व्यक्तित्व तथा बिभिन्न संघ संस्थामा आवद्ध व्यक्ति एवं उद्योगी व्यवसायीसँग छलफल भएको जानकारी दिए ।

केन्द्रले आइतबार बिहान गरेको छलफलमा पत्रकार यदुनाथ बञ्जरा, प्रकाश अधिकारी, शिशिर पौडेल र संजय थापाले केन्द्रको दिगो संचालनका लागि बिभिन्न सुझाव दिएका छन् । उनीहरुले आर्थिक पारदर्शितामा जोड दिदैं, सदस्यता शुल्क, उद्योगी–व्यवसायीहरूको सहयोग, आर्थिक रूपमा सक्षम व्यक्तिहरूको योगदान, सामाजिक व्यक्तित्व, बैंकिङ क्षेत्रका व्यक्तिहरूको सहयोग, क्यालेन्डर प्रकाशन, देउँसी–भैलो लगायतका कार्यक्रम मार्फत कोष संकलन गर्न सुझाव दिए ।

केन्द्रको निर्माण कार्य २०७७ सालमा पोखरा महानगरपालिकाबाट प्राप्त करिब ११ लाख रुपैयाँको बजेटबाट सुरु भएको थियो। केन्द्रको उद्घाटन गत २०८२ जेठ २४ गते गण्डकी प्रदेशका तत्कालीन मन्त्री विन्दुकुमार थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्