रसुवाको बाढीले गर्यो बीओपीदेखि प्रहरी चौकिसम्म ठूलो क्षति, दर्जनौं सम्पर्कविहीन
  • प्रमुख खबर

Oplus_131072

भदौ १०, रसुवा ।।
रसुवामा बुधवार(आज) बिहान आएको भीषण बाढीले ठूलो क्षति निम्त्याएको छ । बाढीको तह अघिल्लो वर्षको भन्दा झन्डै ५ गुणा ठूलो रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले धुन्चेबाट अरू बेला नदेखिने भोटेकोशी नदी आज देखिएको र अवस्था डरलाग्दो रहेको जानकारी दिएको छ । बाढीका कारण नदीको तटमा रहेका क्षेत्रहरू धेरै प्रभावित भएको उनले बताएका छन् ।

यस्तै सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलैन्द्र थापाका अनुसार बाढीका कारण बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सो बाढीले कैलाश मानसरोवर हिँडेका झन्डै ५० जना तीर्थयात्री पनि सम्पर्कमा आएका छैनन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति भएको छ । सरकारी निकायहरूले रसुवादेखि नुवाकोट, धादिङ र चितवनको मुग्लिनसम्म त्रिशूली नदीको किनारमा पर्ने ठाउँमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाउन प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् ।

राष्ट्रिय विपद् प्राधिकरणको पदाधिकारीहरूसहित सुरक्षा निकायहरू समेतको बैठक बोलाएका हुन् । अहिले उद्धार र तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले सबै १२ हेलिकप्टर कम्पनीलाई ३४ वटै हेलिकप्टर उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । यतिबेला त्यस्तै नेपाली सेनाको एआई-१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौंबाट बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको छ । यसका साथै धुन्चे र त्रिशूलीबाट उद्धारको टोली पनि परिचालित भएको छ । यसअघि सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्र का लागि खटिसकेका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्