रसुवामा बाढीको वितण्डा, १३३ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन
  • प्रमुख खबर

Oplus_131072

भदौ १०, रसुवा ।।
रसुवा आएको बाढीमा कारण विभिन्न जलविद्युत आयोजनामा कार्यरत १३३ भन्दा बढी कर्मचारी तथा कामदारहरु सम्पर्कविहीन भएका छन् । नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १३३ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् ।

प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधीन त्रिशुली ३ बी को साइटमा कार्यरत २१ जना कर्मचारीहरु सम्पर्क बाहिर छन् । चिलिमे जलविद्युत कम्पनीको चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र वरपर रहेका एक जना सम्पर्क बाहिर छन् ।

यसैगरी चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रहेर त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधीन त्रिशुली ३ बी को साइटमा कार्यरत ११ जना सम्पर्कमा बाहिर रहेका छन् ।

यस्तै चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत केन्द्रमा ५१ जना सम्पर्कमा रहेका छन् भने अन्य सम्पर्कविहीन छन् । त्रिशुली ३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मतकार्यमा संलग्न रहेका ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् ।

प्राधिकरणको त्रिशुली जलविद्युत केन्द्र र देविघाट जलविद्युत् केन्द्रमा कार्यरत १र१ जना कर्मचारी सम्पर्क बाहिर रहेका छन् ।

त्यस्तै रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्वीच्यार्डमा कार्य गर्ने एकजना सम्पर्क बाहिर रहेका छन् भने सोही वितरण केन्द्रको गोटागन्ती मिटर रिडर पनि सम्पर्कमा छैनन् । त्रिशुली २२० केभी ३ बी हबमा कन्ट्र्याक्टरको तर्फबाट कार्यरत रहेका १६ जना सम्पर्कविहीन छन् ।

रसुवागढी जलविद्युत केन्द्रमा विभिन्न कन्ट्र्याक्टरको तर्फबाट मर्मत संभारमा तथा निर्माण कार्यमा कार्यरत रहेका २९ जना पनि सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ ।

बाढीबाट कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठको टोली प्रभावित क्षेत्र पुगी अनुगमन गरेको छ ।

श्रेष्ठले हराइरहेकाहरुको खोज तथा उद्धारका लागि प्राधिकरणको टोली प्रभावित क्षेत्रमा परिचालन गरेका छन् । जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्नका लागि अर्को टोली स्थानीय क्षेत्रमा क्रियाशील रहेको श्रेष्ठले बताए ।

निमित्त कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयास जारी छ । यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेकाहरुको विवरण संकलन गरी खोज तथा उद्धार कार्य जारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्