भदौ १२, काठमाडौं ।।
फिफा निलम्बनका कारण नेपालले एएफसी १७ वर्षमुनिको एसियन कप छनोट खेल गुमाएको छ । आउँदो
नोभेम्बर ८ देखि २० सम्म हुने यस प्रतियोगिताको छनोट खेल नेपालले गुमाएको हो ।
बिहीबार एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको समूह तालिकाम नेपाल समावेश छैन । गएको असार ११ गते निलम्बनमा परेपछि नेपालले पाँचौँ पटक यस्तो अवसर गुमाएको छ।
यसअघि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनसिप २०२६ काे २० वर्षमुनिको एसियन कप छनोट, एएफसी च्याम्पियन्स लिग (महिला) र १७ वर्षमुनिको एसियन कप छनोट (महिला) गरी चार वटा प्रतियोगिता गुमाएको थियो ।
१७ वर्षमुनिको एसियन कप छनोटमा ३५ टोली सहभागी छन् । टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रतियोगिता ‘सिंगल राउन्ड रोबिन’ प्रणालीका आधारमा खेलाइनेछ । प्रतियोगितामा विजेता टोली उज्वेकिस्तानमा हुने प्रतियोगिताका लागि छनोट हुनेछन् ।
एएफसीका अनुसार, अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामले फिफा १७ वर्षमुनिको विश्वकप खेलेका कारण सिधै छनोट भएका छन् ।









