भदौ १२, पोखरा ।।
गण्डकी प्रदेश सरकारले विनाशकारी बाढीबाट प्रभावितका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’ मा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार(आज) वक्तव्य जारी गर्दै सो कुराको जानकारी दिँदै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
धार्मिक यात्रा तथा अन्य कामका लागि रसुवा पुगेर सम्पर्कविहीन भएका गण्डकी प्रदेशका नागरिकहरूलगायत सबैको खोजी र उद्धारका लागि प्रदेश सरकारले सम्बन्धित निकायहरूसँग तीव्र समन्वय गरिरहेको समेत मुख्यमन्त्री पाण्डेले बताए।
उनले संकटको यस घडीमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन उद्योगी, व्यवसायी, राजनीतिक दल र नागरिक समाजलाई अपिल गरेका छन् । यसका साथै विपद्को समयमा भ्रामक र अपुष्ट सूचनाको प्रचारप्रसार नगर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न पनि मुख्यमन्त्रीले विशेष आग्रह गरेका छन् ।








