भदौ १४, काठमाडौं ।।
बाढी पूर्वानुमान महाशाखाले आइतबार(आज) ३३ जिल्लामा बाढीको जोखिममा रहेको जनाएको छ ।
विषेशगरी नुवाकोट र रसुवा जिल्ला भने बाढीको उच्च जोखिममा रहेका छन् ।
अन्य जिल्लाहरूमा पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ र मकवानपुरमा बाढीको मध्यम जोखिम छ ।
त्यस्तै गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी र बर्दिया तथा कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर पनि बाढीको जोखिममा रहेका महाशाखाले जनाएको छ ।
भोटेकोशी र त्रिशूली नदीमा अहिले बहाव उच्च रहेको छ । महाशाखाका अनुसार त्रिशूली नदीको बेत्रावती क्षेत्रमा अबको तीन दिन नै जल सतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ ।
त्यसैगरी नारायणी नदीको देवघाट, बूढीगण्डकीको आरुघाट र मस्र्याङ्दी नदीको विमलनेर क्षेत्रमा आज जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।
नदी तथा खोलानालाको आसपास र बाढीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह छ ।








