भदौ १६, पोखरा ।।
रसुवा बाढीमा परेर ज्यान गुमाएकामध्ये पोखरा ल्याइ पहिचान हुन नसकेका शवलाई व्यवस्थापन गरिएको छ । विभिन्न जिल्लाबाट पोखरा ल्याइएका १ सय २ शवमध्ये १९ वटा शवको मात्र पहिचान भएको र पहिचान हुन नसकेका ७८ वटा शवलाई आजदेखि पोखरा १६ दिप हाउजिङ भन्दा केही तल सिसौंघारीको जंगलमा व्यवस्थापन गरिएको हो ।
भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिएका छन् ।
पोखरामा ल्याइएका सबै शवको पोस्टमार्टम, डिएनए परीक्षण गरी पहिचान नभएका शवमा ट्याग राखेर आजबाट वैकल्पिक रुपमा शव व्यवस्थापन गरिएको बरालले बताए।
यस्तै उनका अनुसार पहिचान भएका शवहरुलाई आफन्तको जिम्मा लगाइएको छ । एउटा शवलाई भने तीन जनाले दाबी गरेपछि अहिलेलाई यसै राखिएको छ । बाँकी रहेका चार शव विदेशीको जस्तो देखिएकाले केही दिन प्रक्रियामै राखिने उनले बताए।
त्यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर हिजो सोमबार साँझसम्म १ सय ५३ जना सम्पर्कविहीन भएको अभिलेख छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक नवीन कार्कीले नवलपरासीमा ९३, गोरखामा २९ र तनहुँमा १५ वटा पहिचान हुन नसकेका शव व्यवस्थापन गरिएको जानकारी दिए ।
कास्कीमा सोमबार साँझसम्म बेपत्ता भएकाको संख्या ५८ पुगेको छ । आफन्तहरुले सम्पर्कविहीन भएकाको नाम टिपाउने क्रम अझै पनि जारी छ ।








