भोटेकोशी नदीमा आएको बाढीका कारण बंगलादेश निर्यात हुँदै आएको विद्युत् रोकियो
  • प्रमुख खबर

Oplus_131072

भदौ १८, काठमाडौं ।।
नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत् रोकिएको छ । रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीले
जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि बंगलादेश निर्यात हुँदै आएको विद्युत् रोकिएको हो ।

बंगलादेशमा विद्युत् निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा भोटेकोशी बाढीले क्षति पुर्‍याएपछि ती आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश पठाउन नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपालले यी दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो । यस्तै बाढीका कारण भारततर्फ निर्यात हुँदै आएको विद्युत् पनि कटौती भएको छ ।

नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् निर्यात अनुमति पाएको थियो । बाढीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढीले क्षति पुर्‍याएको छ । क्षतिको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेपछि भारततर्फ पठाउँदै आएको विद्युत् समेत कटौती गर्नुपरेको प्राधिकरणको भनाइ छ ।

बाढी प्रभावित आयोजनाहरूबाट उत्पादन पुन: सुरु हुन नसकेसम्म विद्युत् निर्यातमा थप दबाब पर्ने देखिएको छ । विषेशगरी बाढीले आयोजनाका संरचनामा मात्रै क्षति पुर्‍याएको छैन, निर्माणाधीन आयोजनामा कार्यरत श्रमिक तथा कर्मचारीको उद्धार समेत जटिल बनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्