आज देशभर वर्षाको सम्भावना, सतर्क रहन मौसम महाशाखाको आग्रह
  • प्रमुख खबर

भदौ २२, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार(आज)
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाडका साथै सुदूरपश्चिम प्रदेशको पहाड र तराईका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

यस्तै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । अहिले पूर्वी तराइका केही ठाउँमा पानी परिरहेको छ ।

पछिल्लो तीन घण्टामा झापा क्षेत्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । गएराति पनि देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।

लगातारको वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने तथा यात्रामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्