भदौ २६,पोखरा।।
स्पाइरल ग्यालेक्सी एकेडेमी सेकेन्डरी स्कुलको आयोजनामा पोखरामा पहिलो अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता हुने भएको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय हलमा आगामी भदौ २७ र २८ गते प्रतियोगिता आयोजना गर्न लागिएको हो। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न विद्यालयका शिक्षकहरूको टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले १५ हजार ५५५ रुपैयाँ तथा तेस्रो हुने टोलीले ४ हजार ९९९ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।








