भदौ २८, काठमाडौं ।।
रसुवाको भोटेकोशी नदी र त्रिशूलीमा भदौ १० गते आएको बाढीको तथ्य सरकारले सार्वजनिक गरेको छ । सो दिन आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य आइतबार(आज) सरकारले सार्वजनिक गरेको हो।
जल तथा ऊर्जा आयोगअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ल्हेन्दे खोला क्षेत्रमा गएको ’आइस–रक एभलान्स’ अर्थात् हिमपहिरोका कारण बाढी आएको पुष्टि गरेको छ ।
केन्द्रले भीमकाय हिमपहिरो खस्दा ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जासमेत रेकर्ड गरिएको थियो । प्रतिवेदनका अनुसार उक्त बाढी रसुवागढीसम्म प्रतिघण्टा ८८ किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो ।
तीव्र वेगको बाढीले पूर्वसूचनाका लागि समय नै नदिई नदी किनारमा रहेका रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र मलेखुका महत्त्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्णरूपमा नष्ट गरिदिएको छ ।
यस्तै सरकारले गरेको सो प्रतिवेदनमा छोटो समयमै भएपनि रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा ६ लाख ७८ हजारभन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको उल्लेख गरिएको छ।
बाढीपछि माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा दुई वटा नयाँ अस्थायी ताल बनेका छन् । यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औँल्याएको छ ।
त्यस्तै सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्वसूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभीमार्फत ’रियल–टाइम’ नदी अनुगमन प्रणाली समेत जडान गरिएको छ ।








