कृष्णभीरमा भित्ता काट्ने काम सकिएकाले छिट्टै पृथ्वीराजमार्ग सञ्चालनमा आउने
  • प्रमुख खबर

Oplus_131072

भदौ २८, पोखरा ।।
त्रिशूली नदीको कटानका कारण कृष्णभिरमा सडक भासिएसंगै अवरुद्ध रहेको पृथ्वी राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अहिले उक्त सडकखण्डमा भित्ता काट्ने काम सकिएकाले असोज १ गतेअघि नै राजमार्ग सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको हो।

मुग्लिङ–मलेखु खण्ड निर्माण आयोजनाकी प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीका अनुसार भित्ता काट्ने काम सकिइसकेको छ। अब राजमार्गको स्लोप र सर्फेस मिलाउन बाँकी छ। त्यसपछि कम्प्याक्सन गर्दै ग्राबेल गरेर राजमार्ग सञ्चालनमा ल्याइनेछ। यदि यही गतिमा काम भएको खण्डमा भने २ वा ३ दिनभित्रै सडक खुल्न सक्ने सम्भावना छ।

अहिले १० मिटर चौडाइ र १५२ मिटर लम्बाइमा भिर काटेपछि राजमार्ग खुलाउने आधार तयार भएको हो। भिरको माथिल्लो भागदेखि नै स्लोपमा काटिएकाले सतहमा आइपुग्दा सडक १० मिटर फराकिलो बनेको छ।

राजमार्ग खुलाउन अहिले एक्साभेटर, बुल्डोजर, लोडर, ब्याकहो, टिप्पर, रक ब्रेकर र ग्रेडरजस्ता उपकरणहरु निरन्तर प्रयोग भइरहेका छन्। सडक खुला भएपछि पहिलो प्राथमिकता एलपी ग्यासका बुलेट, खाद्यान्न, औषधि बोकेका गाडी र एम्बुलेन्सलाई दिइनेछ।

गत भदौ १४ गते राजमार्ग भासिएपछि काठमाडौं उपत्यकामा एलपी ग्यास तथा खाद्यान्न ढुवानीमा समस्या उत्पन्न भएको छ। २०५७ सालदेखि नै कृष्णभिरमा पहिरो र सडक भासिने समस्या आउने गरेको थियो। तर केही वर्ष यता ठीकै रहे सो सडकखण्ड भदौ १४ को घटनापछि पुनः आवागमन ठप्प भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्