भदौ ३०, पोखरा ।।
जिल्ला समन्वय समिति(जिसस) कास्कीले जिल्लामा न्युनतम पारिश्रमिक ,श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह गरेको छ। मंगलबार (आज) जिसस कास्कीले जिल्लास्थित सम्पूर्ण क्षेत्रमा कार्यरत मजदुर ,कामदारहरू र रोजगारदाताहरूको सहभागीतामा आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा उक्त विषयहरू कार्यान्वयन गर्न अनुरोध गरिएको जिसस प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।
उनले श्रमजीवी वर्गले पाउनुपर्ने न्युनतम पारिश्रमिक नपाएको, श्रम ऎनको प्रभावकारी कार्यान्वयन नभएको र केही औद्योगिक वव्यवसाय, शैक्षिक संस्था, संचार संस्था सहित सर्वजनिक, सरकारी, गैरसरकारी तथा निजि क्षेत्रमा कार्यरत कामदार एवं मजदुरहरूले सामाजिक सुरक्षा कोषमा आवद्ध नगराइएको पाइएकोले सो सम्बन्धि व्यवस्था सरोकारवालाहरूलाई तत्काल योजना बनाइ कार्यान्वयन गर्न अनुरोध गरे।
यस विषयमा लागू भए नभएको नियमित अनुगमन समेत गर्न सरोकारवाला सरकारी निकायलाई पौडेलले आग्रह गरे। यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले न्युनतम पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोषको आवद्धता आम श्रमजीवी मजदुरहरूको हक अधिकारसंग मात्रै सम्बन्धित नरहेर रोजगारदाताहरूको दायित्व र राज्यको कर्तव्यसंग पनि जोडिएको विषय भएको हुँदा कास्कीमा निर्वाध थप प्रभावकारी रूपमा लागू हुनुपर्नेमा जोड दिए।
त्यस्तै कार्यक्रममा जिफन्टका रुद्र खत्री ,पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष शोभा गौतम ,शिक्षा बिकास समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य ,प्रतिभा मा बि का प्राचार्य किरण सापकोटा सहितले आ -आफ्नो धारणा राख्नुभएको राखेका थिए।
श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत चण्डिका पौडेलले श्रम ऎन र न्युनतम पारिश्रमिकको कानुनि तथा नितिगत व्यवस्थाका विषयमा र सामाजिक सुरक्षा कोष पोखराका कार्यालय प्रमुख डि.पि.सुन्दर पराजुलीले कोषका सन्दर्भमा जानकारी गराए ।









