असोज ७, काठमाडौं ।।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले आफ्ना व्यवसायीहरुलाई भोलि बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासंघले बुधबार (आज) एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको हो ।
विषेशगरी महासंघले अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न सबैलाई आग्रह गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि बिहीबारदेखि भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेसँगै यातायात व्यवसायी महासंघले यस्तो सूचना जारी गरेको हो । यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सरोकारवालालाई यस्तो अनुरोध गरिसकेको छ ।
सोही अनुसार यातायात सञ्चालन गर्न महासंघले आफ्नो सदस्यहरुलाई सचेत गराएको छ । यस साता अविरल वर्षा हुने र यसले सडकमा बाढी तथा पहिरोको जोखिम हुने भन्दै सरकारले समेत सबैमा सचेत हुन भनेको छ ।








