असोज २३, काठमाडौं ।।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
विषेशगरी एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता र नेपाल–बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा उनीहरूलाई प्रतिवादी बनाइएको छ। मुद्दा दायर गरिएकामा संघका अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे छन् ।
सरकारी वकिल कार्यालयले खेलकुद विकास ऐन, २०७७ को दफा ३३ को (ग) तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ३ (क) बमोजिम मागदाबी गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा एन्फाको नेतृत्वबाट विभिन्न विषयमा अनियमितता भएको निष्कर्ष निकालिएको थियो। त्यसैको आधारमा सरकारी वकिल कार्यालयले मुद्दा अघि बढाएको हो ।
यस्तै सीआईबीको प्रतिवेदनअनुसार सन् २०२४ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल नेपालमा हुन नसक्ने अवस्था सिर्जना गर्न एन्फा नेतृत्वको भूमिका रहेको निष्कर्ष समेत निकालिएको छ ।
दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य हुने गरी गतिविधि गरिएको र एसियाली फुटबल महासंघ (एएफसी) ले तटस्थ मैदानमा खेलाउन निर्देशन दिनुअघि नै एन्फा महासचिव राईले बहराइनमा खेल्ने सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ ।
यससँगै बहराइन फुटबल संघबाट खेलको टिकट बिक्री राजस्वबापत प्राप्त हुनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको संस्थागत खातामा जम्मा नभएको तथा खेलका लागि बहराइनका खेलाडी र पदाधिकारीको हवाई टिकट खर्चबापत ३८ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकम एन्फाको खातामा जम्मा भएको प्रतिवेदनमा उल्लेख छ ।









