दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं साधारण सभा सम्पन्न
  • प्रमुख खबर

असोज २६, पोखरा ।।
पोखराको छोरेपाटनस्थित श्री दर्शन बचत तथा ऋण
सहकारी संस्था लिमिटेडको १६ औंसाधारण सभा सम्पन्न भएको छ । नेपाल ठकुरी संगम परिवार कास्कीको सभाहलमा आइतबार सहकारीको १६ औंसाधारण सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष ०८२/०८३ असार मसान्तसम्मको संस्थाको आर्थिक गतिविधिसम्बन्धी लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको छ । साधारण सभाको उपलक्ष्यमा सहकारीका संस्थापक कोषाध्यक्ष चक्र बहादुर शाहीले सहकारी गौरव गर्न लायक, सक्षम र विश्वासिलो संस्था बनाउँदै प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताए।

उनले कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै सहकारी ऐन–नियमको पालना गर्नुपर्नेमा जोड दिए।

सहकारीलाई आर्थिक रूपमा सबल बनाउन सञ्चित कोष वृद्धि गर्न आवश्यक रहेको उल्लेख गर्दै सहकारी क्षेत्रलाई राज्यले समेत महत्त्वपूर्ण रूपमा लिएकाले यसको विकासमा सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए।

यस्तै कार्यक्रममा यस सहकारीका निर्वतमान अध्यक्ष बिष्णु कुमारी उच्चैले ठकुरी समुदायका सदस्यहरूको छरिएर रहेको पूँजीलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको बताउँदै आफूहरुको मुख्य उद्देश्य आफ्नो समुदायमा आर्थिक जागरण ल्याउने काम गरेको बताइन् ।

त्यस्तै कार्यक्रममा ठकुरी संगम परिवार कास्कीका वरिष्ठ उपाध्यक्ष हिरा बहादुर शाहीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने कुरामा जोड दिए।

उनले आफ्नो सहकारीका शेयर सदस्यहरुले संस्थाकाबारेमा जानकारी लिनुपर्ने स्पष्ट पारे। उक्त कार्यक्रममा सहकारीका सल्लाहकार टुक बहादुर मल्ल र ठकुरी महिला परिवार कास्कीका अध्यक्ष लक्ष्मी हमाल खाँण लगाएतले गौरव लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताए ।

यसैबीच साधारण सभाको अवसरमा सहकारीका सदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने सुदेश उच्चै र शौरभी मल्ललाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य श्यामदेवी मल्ल र वीरेन्द्र हमाललाई सम्मान गरिएको थियो भने असल सहकारी अभ्यासकर्ताका रूपमा रञ्जना कुमारी शाही, लिलबहादुर सेन र पुष्पकुमारी मल्ल तथा उत्कृष्ट कर्मचारीका रूपमा दीपा शाही मल्ल र सङ्गीता मल्ललाई सम्मान गरिएको आयोजकले जनाएको छ।

सहकारीका अध्यक्ष राजाराम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मण मल्लले स्वागत मन्तव्य राखेका थिए भने सचिव ज्योति हमालले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्