असोज २७, पोखरा ।।
साहित्यको उर्वरभूमि पोखरा १६ मा अवस्थित शक्ला साहित्य प्रतिष्ठानको आयोजनामा पोखरेली सर्जक दुर्गादेवी बस्नेत गौतमको कविता संग्रह ‘भावनाको चित्र’ सार्वजनिक भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङ रहेकी थिन् । कार्यक्रममा बोल्दै गुरुङले भावनाबाट अभिव्यक्त विचारलाई सुन्दर शिल्पी दिनु नै साहित्य भएको बताउँदै, यसले समाज र संस्कृतिलाई जोड्ने बताईन् । उनले जनप्रतिनिधि भएर पनि बस्नेत साहित्यका बिभिन्न विधामा क्रियाशिल रहेको भन्दै प्रशंसा गरिन् ।
पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बिभिन्न कठिनाईका बीच पनि साहित्य र समाजलाई सँगै अगाडी बढाउन सक्ने क्षमता बस्नेतमा रहेको बताए । एमाले नेतृ प्रभा कोईरालाले निरन्तरको साधनाबाट मात्रै साहित्य लेखनमा अघि बढ्न सकिने बताईन् । स्रष्टाको परिचय गराउँदै कवि राम बहादुर बाँनियाले कवि बस्नेतलाई सामाजिक मात्र नभई साहित्यिक व्यक्तित्वका रुपमा चित्रण गरेका थिए । उनले कविता लेखनको विधामा महिलाको उपस्थिती बलियो बन्दै गएको बताए ।
स्रष्टा दुर्गादेवी बस्नेत गौतमले आफु सानै उमेरदेखि साहित्य सिर्जनामा लागेको बताउँदै, जनजीवनमा भोगेका कुरालाई कविता मार्फत व्यक्त गरेको बताईन् । कृतिको समिक्षा गर्दै साहित्यकार असफल गौतमले भावनाको चित्र अन्तर मनको अभिव्यक्ति भएको बताए । उनले कृतिमा संग्रहित कविताले समाजका बिभिन्न पाटालाई उजागर गरेको स्पष्ट पारे ।
पोखरा १९ की जनप्रतिनिधि समेत रहेकी बस्नेतले यसअघि ‘सम्झना’ कविता संग्रह प्रकाशन गरेकी थिईन् । भने भावनाको चित्र दोस्रो कविता संग्रह हो । प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव रामप्रसाद पौडेलले गरेका थिए ।







