असोज २७, पोखरा ।।
पोखरा–२४, कास्कीकोट निवासी धार्मिक एवं सामाजिक व्यक्तित्व नरहरि गौतमले श्री विश्वकर्मा वैदिक प्रतिष्ठानलाई दुई रोपनी जग्गा दान गरेका छन् । उनले पोखरा -२४, पामे बजार नजिकै आफ्नो नाममा रहेको जग्गा मंगलबार(आज) एक कार्यक्रमकाबीच दान गरेका हुन् ।
भूमिदानसम्बन्धी समझदारी पत्रमा प्रतिष्ठानका अध्यक्ष गणेशबहादुर विश्वकर्मा बराइली र जग्गादाता गौतमबीच आज समझदारी – पत्रमा हस्ताक्षर भएको छ। हाल पोखरा–१५, नयाँगाउँस्थित ट्याक्सीचोकमा रहेको प्रतिष्ठानको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त समझदारी -पत्र हस्तान्तरण गरिएको हो।
समझदारी- पत्र अनुसार जग्गादाता गौतमलाई प्रतिष्ठानको आजीवन संरक्षक बनाउने तथा उनले तोकेको एक जनालाई सञ्चालक समितिमा आजीवन सदस्यका रूपमा राख्ने व्यवस्था गरिएको छ। यसका साथै उनका परिवारलाई समेत आजीवन संरक्षकको भूमिका प्रदान गर्ने उल्लेख सो समझदारी – पत्रमा छ।
दान गरिएको जग्गामा प्रतिष्ठानले निर्धारित उद्देश्यअनुसार कार्यक्रम सञ्चालन नगरेमा वा संस्था विघटन हुने अवस्था आएमा जग्गा दाताकै नाममा फिर्ता हुने सर्त समेत राखिएको छ।
जग्गाको दर्ता पुर्जा प्राप्त भएपछि कानुनअनुसार प्रतिष्ठानका नाममा निःशुल्क रजिस्ट्रेसन गरी हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ।
समझदारी – पत्रमा हस्ताक्षर गर्दै जग्गादाता गौतमले सनातन धर्मको रक्षा तथा शिल्पी समुदायका गुरुहरूको कर्मकाण्डीय क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले जग्गादान गरेको जानकारी दिए । उनले यो सहयोग प्रतिष्ठानको उद्देश्य र योजनाबाट प्रभावित भएर गरेको पनि बताए ।
यस्तै सोही कार्यक्रमअन्तर्गत प्रतिष्ठानले हिन्दू धर्मालम्वीहरुको महान् पर्व विजयादशमी, दीपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको छ ।
विषेशगरी सनातन परम्पराअनुसार कर्मकाण्ड गर्दै आएका शिल्पी समुदायका गुरु तथा पण्डितहरूको क्षमता अभिवृद्धि गर्ने, उनीहरूलाई नियमित प्रशिक्षण प्रदान गर्ने र बालबालिकालाई सनातन धर्म तथा संस्कृतिबारे अध्ययन गराउने उद्देश्यले यो प्रतिष्ठान स्थापना गरिएको हो।









