असोज २९, काठमाडौं ।।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार साउन र भदौमा गरी ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा भित्रिएको रेमिट्यान्स हो ।
भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । गएको आर्थिक वर्षको यही अवधिको तुलनामा दुई महिनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै दुई महिनामा वैदेशिक रोजगारीका लागि ७८ हजार ३२० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ ।
अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ जना रहेको थियो ।








