कात्तिक ०५, काठमाडौं ।।
आज देशका धेरै ठाउँमा मौसम सफा छ । आज कोशी र गण्डकीका हिमाली र पहाडी एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरु थोरै ठाउँमा आंशिक बादल छ । काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम केही घटेको छ । चिसो बढेको छ । महाशाखाकाअनुसार आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन भएको छ ।
हिजो दशैँको टीकाको मुख्य दिन काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस रहेको थियो । काठमाडौं उपत्यकामा बिहान र रातको समयमा चिसो हुन थालेको छ ।
दिउँसोमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीचमा रहने गरेको छ । दिनको समयमा घाम लागे पनि बिहान र राति तापक्रम घट्दा चिसो महसुस हुन थालेको हो ।







