कोजाग्रत पूर्णिमा आज : दसैं बिदाइ, महालक्ष्मीको आराधना र जाग्राम बस्ने दिन
  • प्रमुख खबर

कात्तिक ८, काठमाडौं।।

आज कोजाग्रत पूर्णिमा, बडादसैंको औपचारिक बिदाइ गर्दै धनधान्यकी देवी महालक्ष्मीको पूजा–आराधना गरी मनाइँदै छ।

कोजाग्रत पूर्णिमाको अवसरमा आज साँझ महालक्ष्मीको पूजा गरी रातभरि जाग्राम बस्ने धार्मिक परम्परा छ। रातभरि जाग्राम बसेर महालक्ष्मीको आराधना गरे घरमा लक्ष्मीको प्रवेश भई धनधान्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यस पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ समेत भनिन्छ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका तथा जमरा लगाउने क्रम आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासँगै समाप्त हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकी अखिल (सबै) बलि पूर्ति नभएसम्म देवीको प्रसादका रूपमा दसैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ।

आज बिहानै दसैंघरमा राखिएका फूलप्रसाद तथा जमराका अवशेष नजिकका नदी, तलाउ, पोखरीलगायत तीर्थस्थलमा लगेर विसर्जन गर्ने प्रचलन छ। यससँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् पर्व बडादसैं पनि समाप्त हुन्छ।

कोजाग्रत पूर्णिमापछि भोलिदेखि कात्तिक स्नान सुरु हुन्छ। कात्तिक महिनाभरि आकाशदीप दान गर्ने तथा घरघरमा विशेष रूपमा तुलसी पूजा गर्ने प्रचलन पनि आजदेखि सुरु हुने गर्दछ। यसलाई दसैंको बिदाइसँगै तिहारको तयारी सुरु हुने समयका रूपमा समेत लिइन्छ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गर्ने धार्मिक परम्परा छ। कात्तिक स्नान गर्नेहरूले यस अवधिमा दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमासलगायत अन्न खान नहुने शास्त्रीय मान्यता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्